अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा जिल्लाका सबै स्थानीय तहलाई सहयोग

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई दोस्रो चरणको कार्यक्रम अन्तर्गत खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
नोबेल कोरोना भाइरस (कोभिड १९) बाट विश्वनै आक्रान्त भइरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाजले धादिङ जिल्लाभर स्वास्थ्य र खाद्यान्न सामग्री सहयोग गरेको हो।
दैनिक ज्याला मजदुरीबाट जीवन धान्नेहरुलाई सहयोग गरौँ, स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक सामाग्री उपलब्ध गराऔँ” भन्ने मुल उद्देश्यको साथ सुरुभएको अभियान, पहिलो र दोस्रो गरी दुईचरणमा सम्पन्न गरिएको हो ।
पहिलो चरणमा स्वास्थ्य सामाग्री र दोस्रो चरणमा खाद्यान्न अन्तर्गत २३४० केजी चामल, १३० केजी नुन १३० लिटर तेल, ३२५ केजी दाल र १५ थान गनथर्मोमिटर सहयोग गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालले रातोपाटीलाई बताए।
पहिलो चरणको कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीलाई लक्षित गरी मास्क, सेनिटाइजर, पीपीई सेट, सावुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रबक्ता राजन खकुरालले जानकारी दिए ।
दुवै चरणको कार्यक्रम अन्तर्गत १३ वटै स्थानीय तहको केन्द्रसम्म नै पुगेर सामग्री हस्तान्तरण गरिएको पनि उनले बताए ।
उक्त अभियानमा देश तथा विदेशमा रहेका सयौँ सहयोगी हातहरुको सक्रिय सहभागिता रहेको थियो । विशेषगरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका धादिङेली र नेपालमा विभिन्न पेशा तथा व्यावसायमा आबद्ध सहयोगी मनहरुकै कारण अभियानले पूर्णता पाएको समाजले जनाएको छ ।
सामाजिक संजाल मार्फत चलाईएको सो अभियानलाई सफल बनाउन करिब ९ लाख बराबरको सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । साथै पछि उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै आवश्यकता अनुसार तेस्रो चरणको कार्यक्रम पनि संचालन गर्न सकिने समाजले जनाएको छ ।
दोस्रो चरणको कार्यक्रम सम्पन्न भएसँगै जिल्लाका स्थानीय तहलाई स्वास्थ्य र खाद्यान्न सामाग्री पुर्याउने संस्थाहरुमा अन्तर्राष्ट्रिय धादिङ समाज पहिलो संस्था समेत बनेको छ ।