Uncategorized

अपाङ्गता भएका व्यक्तिको सहजताका लागि विद्युतीय ह्विलचियर सहयोग

धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टकबहादुर रुवालीको समन्वयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएकाहरूलाई विद्युतीय ह्विलचियर प्रदान गर्ने क्रममा अन्तर्राष्ट्रिय धादिङ समाजको तर्फबाट एक विद्युतीय ह्विलचियर प्रदान!

धादिङबेंसी, कात्तिक १३ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएकाहरूलाई विद्युतीय ह्विलचियर प्रदान गरिएको छ । 

धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टकबहादुर रुवालीको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो । पूर्ण अपाङ्गता भएका र घरमै बस्न बाध्य नागरिकहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर वितरण गरिएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष रुवालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विदेशमा रहेका नेपाली समुदायले संकलन गरेको सहयोग रकममार्फत आधुनिक रिचार्जेबल ह्विलचियर उपलब्ध गराइएको छ । विद्युतीय ह्विलचियर एकपटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने र प्रयोगकर्ताले बिना सहायताको स्वतन्त्र रूपमा चलाउन सक्ने बताइएको छ ।

सहयोग पाउनेमध्ये लुरे विक, अम्बिका रिजाल, अन्जन श्रेष्ठ, कुन्जेमाईला दरै, टिकानिधि बसौला, कुम्भ कुमारी गिरी, र अमृता कुमाल रहनुभएको छ । यसअघि रामबहादुर पाण्डेलाई पनि सोही कार्यक्रमअन्तर्गत ह्विलचियर वितरण गरिएको थियो ।

ह्विलचियर प्राप्त गर्नुभएको अमृता कुमालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब म सहज रूपमा वरपरका छरछिमेक र आफन्तकहाँ जान सक्ने भएकी छु ।”

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरू तथा धादिङ नेपाली समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयो । 

व्यक्तिगत स्तरबाट आठ वटा आधुनिक विद्युतीय ह्विलचियर वितरण धादिङमा पहिलो पटक गरिएको हो । समाजसेवी तथा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रुवालीले पठाउनु भएको शुभकामना कार्यक्रम सञ्चालक, पत्रकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले वाचन गर्नुभएको थियो । 

Source: https://gorkhapatraonline.com/news/177539

Leave A Comment

Your Comment
All comments are held for moderation.